सुर्खेत । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म हुने भएको छ । शुक्रबार सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनका लागि नयाँ मिति प्रस्ताव गरेका हुन् । यसअघि मङ्सिर १५ गते बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय अनुसारको महाधिवेशन कार्यतालिका कार्यान्वयन हुन नसकेपछि पार्टीले पुनः नियमित महाधिवेशनका लागि नयाँ मिति तय गरेको हो ।
यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्धारित महाधिवेशन कार्यतालिका आगामी केन्द्रीय समितिबाट अनुमोदन गराउने भन्दै बिहीबार संयुक्त विज्ञप्ति जारी गरी महाधिवेशन स्थगित गरेका थिए । तर संस्थापन पक्षले केन्द्रीय समितिबाट पारित निर्णयलाई महामन्त्रीहरूले एकतर्फी रूपमा उल्टाउन नसक्ने भन्दै तीव्र असन्तुष्टि जनाउँदै आएको छ ।


