
राष्ट्रवाद वादहरुमध्य सबैभन्दा बढी बहस चल्ने बिषय हो यसको बारे चिया पसल,चौतारी,चौरमा,कलेज, विश्वविद्यालय आदि ठाउँमा सबैभन्दा बढी स्थानमा चर्चा चल्ने गरेको छ । यानिकी संसदमा समेत आफू बडेमानको राष्ट्रवादी सम्झेर एकले अर्कोलाई राष्ट्रघाती सम्म बनाउछन । एकले अर्कोलाई झुक्केर कहिलेकाही राष्ट्रवादी भनेमा राष्ट्रवाद अपबाद हुनेछ । यिनिहरु आफैमा राष्ट्रवाद उब्जनु पनि अपबाद नै हो ।
अहिले ‘राष्ट्रवाद’का विषयमा दुई किसिमले बहस चलिरहेको छ । एकथरीले हामी राष्ट्रवादी हाैँ, अरु गैरराष्ट्रवादी, अराष्ट्रवादी भन्दै ‘राष्ट्रघाती’सम्म भन्ने गरेका छन् । यद्यपि, ‘राष्ट्रघात’ कसरी हुन्छ भन्ने भनेका छैनन् ।
राष्ट्रवादको एउटा विशुद्ध सैद्धान्तिक पाटो हुन्छ । म त अझ अन्तरास्ट्रिय सम्बन्ध र कुटनैतिक शास्त्रको विद्यार्थी पनि हुँ । राष्ट्रवादका नाममा बडे बडे ‘थेसिस’हरु लेखिएका छन् । विश्वविद्यालयमा पढाइ हुन्छ । त्येसैले केही हदसम्म राष्ट्रवादकै बारेमा लेखिएका किताबहरु पढियो पनि । त्यो सैद्धान्तिक बहस, प्राज्ञिक बहसमा राष्ट्रवाद के हो ? के होइन ? यसका आधारभूत तत्त्वहरु के हुन् ? भन्नेजस्ता कुराको सैद्धान्तिक परम्परा निक्कै लामो छ ।
राष्ट्रवादको सैद्धान्तिक धरोहर विशुद्ध सैद्धान्तिक वा प्राज्ञिक बहसबाट उब्जिएको भने होइन । राष्ट्रवाद, राष्ट्रियता, राष्ट्रभक्ति, देशभक्ती, राष्ट्रप्रेम विभिन्न शब्द प्रयोग भए पनि यसको व्यावहारिक पक्ष र धरातलीय आधारहरु पनि छन् । राष्ट्रवाद विभिन्न परिवेशमा, विभिन्न देशमा कसरी उत्पन्न भयो ? त्यसलाई मानिसहरुले कसरी लिए ? कसरी अभ्यास गरे ? राष्ट्रवाद भन्नाले के बुझे ? कस्तो बुझे ? भन्ने पक्ष छ ।
‘नेसनालिज्म’ (इज्म भनेको वाद भयो) आधुनिक अवधारणा हो । अहिलेको युरोपमा युद्ध भयो र त्यसलाई शान्तिमा परिणत गर्न सन् १६४८ मा एउटा सन्धि भएको छ । त्यसलाई ‘ट्रिटी अफ वेस्टफेलिया’ भनिन्छ । त्यसले १६१८ देखि सुरु भएको ३० वर्ष लामो युद्ध र १५६८बाट सुरु भएको ८० वर्ष पुरानो युद्ध दुवैलाई शान्तिममा परिणत गरेका थियो । यो सन्धिपछि राष्ट्रहरुको क्रमिक विकास भएर गयो । राष्ट्रवाद पनि सोही तौरले विकास हुँदै गयो ।
त्यसभन्दा अघि कि त एम्पाएरहरु (साम्राज्यहरु) थिए कि चाहिँ गणराज्यहरु थिए । कि चाहिँ ससाना कबिलाहरुको सांस्कृतिक जातीय संरचनाहरु थिए । राज्यहरु भनेको ग्रिक रोमन समयमा साना साना ‘सिटी स्टेट’ राज्यका रुपमा थिए । अहिले हामीले देखिरहेका राज्यहरुको स्वरुप त्यो ‘ट्रिटी अफ वेस्टफेलिया’ पछिको हो । युरोपमा रोमन साम्राज्य भक्तिएपछि ट्रिटी अफ वेस्टफेलियाले के गरिदियो भने साना साना नगरराज्यभन्दा अलिक ठूलो क्षेत्र र समुदाय राज्यको स्वरुपमा स्थापित भए ।
हुन त युरोपमा जम्मा एउटै धर्म थियो । एक्टर्नल रिलिजन भनेको इस्लाम थियो । अरु सबै क्रिस्टियन भित्रकै प्रोटेस्टेन, क्याथोलिक अर्थोडक्स, प्यागन भनिने धर्म नमान्ने समूह पनि थिया । एब्रामिक रिलिजन भन्छन् सबै त्यो इजरायलबाट, जेरुसेलमबाट निस्किएको क्षेत्रको वरपरका धर्महरु थिए ।
त्यसभन्दा अघि धेरै लामो समयसम्म चर्चको प्रभुत्व हुने कि, धर्मको हुने कि ? राजा ठूलो हो कि धर्म गुरु ठूलो हो ? राज्यमा धर्मको कत्रो भूमिका छ भनेर द्वन्द्व त भएको थियो । तर, ट्रिटी अफ वेस्टफेलियामा आउँदा धर्म कुनै प्रश्न बनेन । किनभने उनीहरु प्रायः धर्मको एउटै शाखा प्रशाखाबाट निस्किएका कारण प्रोटेस्टेन र क्याथोलिकबीच सामान्य द्वन्द्व भए पनि त्यसले प्रमु्ख मुद्दाको रुपमा असर गरेन । त्यसरी राज्यहरु बन्दा त्यहाँ एउटै प्रकारको जात र भाषाका मानिसहरु परे ।
युरोपमा थुप्रै भाषाभाषी छन् । तर, समग्रमा ल्याटिनबाट निस्किएका भाषाहरु, स्ल्याबिकबाट निस्किएका भाषाहरु, डेनमार्क, स्विडेनका भाषाहरु भए, स्ल्याबबाट निस्किएको जर्मन पोलिसहरु आए । यी राज्यहरु बन्दा जातीय नस्ल पनि एउटै खालको, भाषिक आधार पनि एकै खालको र धर्म पनि एउटै खालको भएपछि राष्ट्रहरु निर्माण भएका हुन् ।
नेसन जसलाई हामी राष्ट्र भन्छौ । राष्ट्र भनेको जनता र तिनका रहनसहन,भाषा,धर्म,भेषभुषा,संस्कृती र यस्तै भावना हुन् । नेस्वँबाट नेसन आएको हो । नेस्वँ भनेको जनता । सीमा, क्षेत्र र शक्ति भएको एकैखालका मानिसहरु बस्ने, एकैखालको धर्म मान्नेहरुबाट राष्ट्रराज्यको अवधारणा आयो । ती मानिसहरु अलिअलि भाषाबाट बाँधिए, अलिअलि धर्मबाट बाँधिए, सांस्कृतिक एकरुपता पनि थियो । त्यसबाट राज्य राष्ट्र (नेसन स्टेट)को अवधारणा आयो अवधारणाको ‘फास्ट फर्वार्ड’ गर्दा एसिया, अफ्रिकाका विभिन्न मुलुक जब उपनिवेश बने त्यसपछि स्वतन्त्रताको परिकल्पना भयो । पश्चिमाको उपनिवेशबाट उम्कन पनि उनीहरुले एक्लै लड्न सक्ने ताकत निर्माणका लागि हामी एक छौँ भन्ने भावना निर्माण गर्नुपर्यो । स्वतन्त्रताका लागि हामी पश्चिमाभन्दा अलग हाैँ भन्ने भयो । त्यसपछि हामी अफ्रिकीहरु एक हौँ, हामी भारतीयहरु एक हौँ भन्ने भयो । तर, भारतीयहरु एक थिएनन् । केरला भिन्नै थियो, युपीमा हिन्दी भाषीहरु भिन्नै थिए, महाराष्ट्र भिन्नै थियो । यी सबैलाई एक सूत्रमा बाध्न ‘भारतीय राष्ट्रवाद’ संरचित भयो । उपनिवेशका कारण हामी जोडिन आवश्यक छ भनेर राजनीतिक राष्ट्रवाद ‘पोलेटिकल नेसनालिज्म’को निर्माण भयो ।
गान्धी वा नेहरुले भनेको राष्ट्रवाद सांस्कृतिक वा धार्मिक राष्ट्रवाद थिएन । त्यो राजनीतिक राष्ट्रवाद हो । राजनीतिक राष्ट्रवादमा के हुृन्छ भने तपाईँ जुन, भाषा वा धर्मको भए पनि त्यो देशमा बस्नुभएका कारण तपाई त्यसको सदस्य हुनुहुन्छ । उदाहरणका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हेर्यो भने थारुले बोल्ने भाषा भिन्नै छ । नेवारले बोल्ने भाषा भिन्नै छ । पहाडीले बोल्ने भिन्नै किसिमको खस नेपाली भाषा छ । त, हामी एउटै नेपाल राज्यभित्र अटेका छौँ । हामी विभिन्न राष्ट्रहरुका छौँ यो भित्र । हामी सबै यो राज्यभित्र किन समेटियौँ भने राजनीतिक राष्ट्रवादभित्र समेटियौँ । हामीसँग संविधान छ, संविधानबाट सबै नागरिकलाई समान संरक्षण छ । हामीसँग एउटा शासन व्यवस्था छ । हामी फरक हौँ भन्ने भावना पनि हराउँदै गएको छ । किनभने हामी लामो समयदेखि सँगै बस्दाबस्दै फरक हौँ भन्ने भावना हटेको छ ।
यसकारण राष्ट्रवाद भनेको के हो भने यो ‘पोलिटिकल कन्स्ट्रक्ट’ (राजनीतिबाट संरचित) हो । यो सबैलाई एकठाउँमा ल्याउन बनाइएको हो । यद्यपि, हामीमा विभिन्न भाषाभाषीका कारणले फरकफरक हुन खोज्छौँ । तर, राजनीतिक रूपमा एकाकार छौँ । हामीलाई हाम्रो राष्ट्रियताको आधार के भनेर पनि संकट आउँछ कहिलेकाहीँ । हाम्रो भाषा छुट्टै छ, भेष छुट्टै छ । त्यसकारण राजनीतिक राष्ट्रवादले हामीलाई एक बनाउँछ । राज्यले हामीलाई समान व्यवहार गर्छ, नेपाल हाम्रो राज्य हो, हामी नेपालका नागरिक हौँ भन्ने भावनाले हामीलाई एक बनाएको छ । प्रकारान्तरले राज्य बन्ने क्रममा भाषाले हामीलाई जोड्न थाल्यो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने नेपाली भाषा छ । रहँदा बस्दा हामी एक अर्काको संस्कृतिबाट सिकिरहेका छौँ । त्येसैले हाम्रो राष्ट्रवाद नेपाली बन्यो । हाम्रो देश नेपाल मुलतः हामी नेपाली भाषी भएकोले हो ।
त्यसकारण राष्ट्रवाद प्राकृतिक होइन । यो आफैँ निर्माण हुँदैन । यसलाई संरचित (कन्स्ट्रक्ट) गरिन्छ । राजनीतिकरुपमा संरचित गरिन्छ । समाजिकरुपमा संरचित गरिन्छ । सांस्कृतिकरुपमा संरचित हुन्छ । यथार्थ के हो भने हाम्रो पोलटिकल कन्स्ट्रक्ट सबैभन्दा बलियो छ । कसरी बलियो छ भने तपाईँ हामी यो मुलुक र यस भूमिप्रति सबैको बराबर दायित्व छ । कसैको कम, कसैको बढी भन्दैनौ । किनभने राजनीतिकरुपमा हामी बराबर छौँ । यस मुलुकमा कुनै पहाडीयाले म खस हुँ, टोपी लगाउँछु अरु मधेसी हुन् धोती लगाउँछन भन्न पाएनन् किनभने उनीहरुको पनि बराबर हक अधिकार र सम्मान छ,उनीहरुको पनि राष्ट्र यहि नेपाल हो उनीहरुको संस्कृती फरक होला भावना एउटै छ। जो मानिस वर्षौंदेखि यहाँ आएर बसेको छ, जो भूमिसँग जाडिएको छ ।
राष्ट्रवादको नाममा देशभित्र जन्मेर बसेर पनि कोही मानिस अपहेलित हुन्छ,टाढा सारिन्छ त्यस्तो किन हुन्छ भने राजनीतिक राष्ट्रवादको संचनामा उनीहरु पर्दैनन् । मुलुक वा भूभागमा सबै मानिस बहुसंख्यक त हुँदैनन् । तर, राष्ट्रवादका विम्बको निर्माण गर्ने काम बहुसंख्यकहरुले गरेका हुन्छन् । बहुसंख्यकले नै कानुनी र नैतिक आधार निर्माण गर्छन् । त्यसकारण अल्पसंख्यकहरु कहिलेकाहीँ पर पारिन्छन् ।
हाम्रो नजरले कहिलेकाही शिरमा ढाँका टोपी लगाएर झण्डा समाएको फोटो फेसबुकको प्रोफाइलमा राख्दैमा आफुलाई उम्दा राष्ट्रवादी सम्झेर सिमाना गोलि खाएर मर्न तयार भएको मधेसको नागरिकलाई अराष्ट्रिय सम्झिन्छ वा भारतीय सम्झिन्छ । यस्तो राष्ट्रवादले देशलाई भावनात्मक रुपमा बिभाजन गरि कम्जोर बनाइरहेको हुन्छ ।
बीपी कोइरालाले के भन्नुभयो भने प्रजातन्त्र र राष्ट्रियता जोडिन्छ । जहाँ मानिसहरुले यो मेरो मुलुक हो, यहाँ मेरो भविष्य छ, म यसको साझेदार हुँ भन्दैन राष्ट्रियता बलियो हुन सक्दैन । विपीले राष्ट्रियता लोकतन्त्रसँग लगेर जोडेको कारण त्यो हो । जहाँ स्वतन्त्रता हुँदैन त्यहा राष्ट्र बलियो हुँदैन ।
विडम्बनामा बाँचेका छौँ हामी । लाखौं मानिसहरु डीभी भरेर देश छोड्न तयार छन् । देशै छोड्न तयार हुने ठाउँमा केही मानिसहरु बुरुकबुरुक उफ्रिन्छन् । उसमा देशको माया त छ । तर, मानिसको स्वतन्त्र छनौट हुन्छ । राष्ट्रियताभन्दा माथि मानिसको जीवन हुन्छ । देशको अवस्था हेर्यो भने उसले त जीउन (सर्भाइवल) रोजेको हो नि !
त्यसकारण राष्ट्रियता दोधारे तरवार पनि बन्छ कहिलेकाहीँ । नेपाली भाषीहरुले सिक्किम भारतमा विलय गराए । जनमत संग्रह नै गराएको हो गराउन त । क्रिमियामा (यद्यपि, त्यो जबर्जस्ती थियो) केही रसियन भाषीहरुले हामी युक्रेनमा बस्दैनौ भनेपछि जनमत संग्रहबाट स्वतन्त्र भएको हो । त्यसकारण कहिलेकाहीँ राष्ट्रवादले स्वतन्त्रतालाई समस्या देख्छ । राष्ट्रवाद विस्तारै के भएको छ भने राज्यमा जसको शक्ति छ, जो बहुसंख्यामा छ, त्यसले अल्पसंख्यकहरुलाई आफ्नो सर्तमा समाहित गर्न खोज्छ ।
भारतमा त्यत्रो ठूलो स्वतन्त्रता आन्दोलन भयो । बीस प्रतिशतभन्दा बढी मुस्लिमहरुका नाममा पाकिस्तान बन्यो भनेर अहिले त ‘पाकिस्तान जा’ भनिरहेका छन् नि त । त्यसकारण यो राष्ट्रवादले भारतलाई बलियो बनायो कि कमजोर बनायो त । यो राष्ट्रवादले हिन्दु राष्ट्रवादलाई बलियो बनायो तर समग्रतामा राष्ट्रलाई त बलियो बनाएन । त्यसकारण अहिलेको समयमा बहुसंख्यकले परिभाषित गर्ने राष्ट्रवादमा अल्पसंख्यकका लागि ठाउँ हुँन्छ कि हुँदैन भन्ने विषय बहुत महत्त्वपूर्ण छ ।
लोकतन्त्रसँग राष्ट्रवादको सम्बन्ध चाहिँ स्वतन्त्रता, छनोट, आफ्नो पनका निम्ति हो । यो मेरो देश हो, यो मेरो भूमि हो, यो मेरो समुदाय हो भन्ने भावनाले राष्ट्रवादलाई थप बलियो बनाउँछ । तर, ‘चुनावी लोकतन्त्र जहाँ भोटको राजनीति हुन्छ त्यो ठाउँ बहुसंख्यामय हुन्छ । मैले भोट लिनुपर्छ, मैले शासन गर्नुपर्छ भन्ने मान्यताले काम गर्छ । यस्तोमा बहुसंख्यकले अल्पसंख्यकलाई मैले भनेअनुरुप तैले बस्नुपर्छ भनेपछि समस्या आउँछन् । बहुमतले अल्पसंख्यकलाई अपहेलित गरेपछि त्यसले राष्ट्रलाई पनि कमजोर पारिरहेको हुन्छ । त्येसैले लोकतान्त्रमा समावेशी समानुपातिक प्रणालीले अल्पसंख्यकको पनि प्रतिनिधित्व गरेको हुन्छ जहाँ समान किसिमको सम्मान हुन्छ ।
हाम्रोजस्तो विविधता भएको मुलुकमा एकोहोरोरुपमा सबैलाई बाँधेर लिएर जाने माध्यम पनि राष्ट्रियता नै हो भनेर त्यस्ता मान्छेहरुलाई लाग्छ जो बहुसंख्यक हुन् । बहुमतको समाज, संख्यात्मक रुपमा जातीय,भाषिक वा धार्मिकरुपमा बढी भएकाहरुले आफ्नो अनुरुप समेटेर लैजाने कुरा गर्छन् र अल्पसंख्यकलाई चुनौतीका रुपमा देख्छन् ।
बहुमत र अल्पसंख्यक मात्र नभएर निर्णय प्रक्रियामा,नीति निर्माण तहमा नसमेटिएका कमजोरहरुलाई पनि संकीर्ण राष्ट्रवादले चुनौती देखिरहेको हुन्छ । मुलुकको कुनै कुनामा रहेको अल्पसंख्यक समुदायले आफ्नो पहिचान वा आफ्नो अधिकार माग्यो भने बहुसंख्यकको राष्ट्रवादले त्येस्तो आवाजलाई राष्ट्रघातको संज्ञा दिन्छ र दबाउन खोज्दछ उसको आवाजलाई सम्बोधन गर्दा राष्ट्रवाद अझ मझबुत हुन्छ भन्ने बुझ्दैन । जुन राज्यमा सबैको अधिकारको समान रुपमा सम्मान हुँदैन त्येहाँ बिद्रोह हुन्छ र राष्ट्रवाद कमजोर बन्दछ ।
अहिले विदेश जानेको विषयमा विवाद चलिरहेको छ । मानिसहरुले आफ्नो जीवन यापनका लागि स्वतन्त्र छनोट गर्न सकुन् भनेर राज्यले राहदानीको प्रयोग खुल्ला गरेको हो । तर, स्वतन्त्र छनोट गर्न पाउँछ, स्वतन्त्ररुपमा हिडडुल गर्न पाउँछ भन्ने कुरालाई समेत निर्देशित गर्नेगरी जुन निर्णय र बहसहरु आएको छ यो पनि संकीर्ण राष्ट्रवादको द्योतक हो । लाखौं खर्चेर विभिन्न अवसरको खोजिमा मान्छे विदेश जान्छ जसले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट उडान भर्नेबेला खादा माला र देशको झण्डा ओडेर राष्ट्रवाद प्रकट गर्दछ सोही मान्छे आफ्नो उर्जाशिल उमेरको रगत पसिना उता खर्चेर विदेशबाट आफ्नै मुलुकलाई औंला तेर्साएर नानाथरी गाली ओखलेर मुलुक बर्बाद भयो,कमजोर भयो भन्दै दुनियाँलाई दर्शाउँछ ।
राष्ट्रवाद कुनै समयमा मुलुकलाई एकै ठाउँमा जोड्ने, बाँध्ने विविधतामा एकता खोज्ने प्रयास थियो भने अहिले विविधतामा एकता भनिएका र जबर्जस्ती लादिएका बिम्बहरुलाई प्रयोग गरेर हिजो जोडिन आएका मान्छेहरुलाई धकेल्ने काम भएको छ ।
नेपालमा ठूला लगानी आए पनि राष्ट्रवाद असुरक्षित भएको ठान्ने, ठूला परियोजना बन्न नदिने बर्षौसम्म आफ्नो देशको स्रोतसाधन खेर जानदिनुलाई राष्ट्रवाद मान्ने र अन्य मुलुकबाट लगानी आएर उत्पादन गर्न खोज्दा राष्ट्रघात सम्झिने जत्थाले राष्ट्रवादलाई आफ्नो राजनीति जोगाउने बलियो अश्त्र बनाएका छन जसले नेपालको बिकासलाई अवरोध पुर्याएका छन ।
नेपालको विकासमा बाहिरी लगानी गर्नुहुँदैन भन्नेहरुले राष्ट्रवादको दुरुपयोगको प्रयास गरेका छन् । नेपाल आज बनेको त होइन । यसको धेरै लामो इतिहास छ । यसको ऐतिहासिकतामा थुप्रै आरोहअवरोह भेटिन्छन् । तर पनि यसले राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आएको छ । त्यसमा कसैले प्रश्न उठाउन सक्दैन ।
नेपालको राष्ट्रियतामा कसले प्रश्न उठाइरहेको छ त ? हामी हीन छौँ, हामी कमजोर छौँ, हामीलाई खाइदिन्छ, हामीलाई सिध्याइदिन्छ भनेर डरको राजनीति गर्नेहरुले अहिले राष्ट्रवादको कुरा उठाइरहेका छन् । जतिसुकै सानो देश भए पनि मानिस जतिसुकै सानो भए पनि उसले आफ्नो विवेक, आफ्नो स्वायत्ततामामा प्रश्न उठाउँदैन । मुलुकमा भय उत्पन्न गरेर राजनीति गर्नेहरुले यस्तो कुरा उठाइरहेका छन् ।
आजसम्म हामी अलगै बसेका थियौँ त ? यति सानो मुलुक हाम्रो आर्थिक र भौगोलिक अवस्थाका कारण हाम्रा छिमेक र छिमेकभन्दा परका मित्रहरू,के हामी छिमेकीहरुबिनै बाँचेका हौँला त ? कुन मुलुक अलग्गै भएर बाँचेको छ ? आज ‘विश्वव्यापीकरणले’ जोडिएका चर्चा हुन्छन् तर, त्यसभन्दा अघि पनि त देशको सीमा त अर्को देशसँग जोडिएकै छ । जहाँ मेरो मुलुकको सीमा समाप्त हुन्छ, त्यहाँ अर्को देशको सीमा सुरु हुन्छ, जहाँ अर्को देशको सीमा सकिन्छ, फेरि अर्को देशको सीमा सुरु हुुन्छ । सीमा अन्त्य विन्दु त होइन । हो भने मित्रहरूले प्रमाणित गरिदिनुपर्यो ।
प्रथम विश्वयुद्धमा सानो अल्पविकसित मुलुक हुँदाहुँदै हामीले किन भाग लियौँ ? हुनत, राणाले आफूलाई राज्यसत्तामा स्थिर राखिरहन पठाएको भन्ने पनि गरिन्छ । तर, हामीले विश्व शान्तिको निम्ति, विश्व राजनीतिक परिदृश्यमा हाम्रो भूमिकाको निम्ति त्यो कदम उठाइएको थियो भन्न सकिने ठाउँ छैन र ? त्यस कदमले नेपाललाई कति फाइदा बेफाइदा गर्यो भन्ने पनि फरक बहस र चर्चा छँदैछन् तर नेपालाई विश्वले चिनेको त हो । त्यो बेला हाम्रा मान्छेहरु गएर हंगेरी,पोल्यान्डको सीमामा मरेको इतिहासमा देखिन्छ । हामी कहिल्यै पनि एक्लिएका थिएनौ । हामी राष्ट्रवादको कुरा आउँदा भारततिर औंला फर्काएर भनिदिन्छौ कि भारत उपनिवेशमा हुँदा हाम्रो मुलुकका प्रधानमन्त्री जंगबहादुर वेलायतको क्यासिनोमा जुवा खेल्थे महानताका साथ भनिदिन्छौं हामिले बिचार गर्नुपर्दैन हाम्रो राष्ट्रवादको मुर्खता कस्तो हो ।
राजनीतिकरुपमा एक्लै थियौँ होला तर आर्थिक र मानवीय संसर्गको हिसाबले अलगअलग थिएनौ । नभए दुईसय/तीनसय वर्ष पहिले हाम्रा पुर्खा बर्मामा, आसाममा गएर किन बस्थे ? त्यहाँ पनि नेपाली भाषी छन् । नेपाल भन्नेहरु त्यहाँ पनि छन् । आसाममा गएर बसेका छन्, मेघालयमा बसेका छन्, भुटान छन् फिजीमा समेत नेपालीहरु गएर बसेको पाइएको छ । मानवीय अन्तरक्रियाको सन्दर्भमा, सामाजिक अन्तक्र्रियाको सन्दर्भमा र आर्थिक सन्दर्भमा । राज्य भए पनि नभए पनि आर्थिक व्यवस्था त कुनै न कुनै रुपमा चलिरहेकै थियो । अहिलेको राष्ट्रवादको बहषमा मलाई लागिरहेको कुरा के हो भने यहाँ यस्तो नेतृत्वहरु राजनीतिक व्यक्तिहरु, पक्षहरु,विचारहरु छन् जोे जनताको भय दोहन गर्न हामीहरु केही गर्न सक्दैनौ,कमजोर छौं,यसको फाइदा अरुले उठाउँछन् भनेर गुमराहमा राखेर शासन गर्ने प्रवृत्तिका छन् । गत ७० वर्षदेखिको कुनै मित्र राष्टसँगको सम्बन्धमा त्यही भय देखाएर जनमत भड्काउने प्रयास भएको छ ।
चीनकै नाममा पनि राजनीति गर्ने प्रयास भएकै छ । चीनमा माओ त्सेतुङ आउनुभयो । त्यत्रो ठूलो सांस्कृतिक क्रान्ति भयो । हामी त सँगै छौ नि । उनीहरुबाट हामीलाई पर्ने प्रभाव परेकै छ । हामीहरुको प्रभाव पनि उनीहरुमा छ । उनीहरुको शान्ति, स्थायित्व र भौगोलिक एकतामा हाम्रो पनि भूमिका होला ।
भारतसँग विशेष परिवेशका साथ बसिरहेका छौँ हामीहरु । उनीहरुको शान्ति सुरक्षामा हामीले सहयोग गरिरहेका छौँ । उनीहरुको बांग्लादेशको युद्ध भन्नुस् वा १९६० को युद्ध हाम्रा मान्छेहरुले लडिदिएका छन् भाइचारा र उनीहरुको सुरक्षाका निम्ति । हुनत, ठूलो सानो, सन्धिका कुराहरु पनि चलिरहेकै छन् । उनीहरुको र हाम्रो सामाजिक सांस्कृतिक,धर्म संस्कार र रोटी बेटिको कुरा गरिरहेका छौं ।
तर, अहिले चलिरहेको राष्ट्रवादको बहस हामी सानो छौँ, हामी कमजोर छौँ भनेर भय र हीनताबोधको राजनीतिमार्फत शासन गर्ने लघुताभाषी सोचसहितको नियतका साथ आएको छ । यसकारण त्यो राष्ट्रवाद जसले लोकतन्त्रको परिकल्पना गर्छ, त्यो राष्ट्रवाद जसले एकताको सूत्रमा बाँध्ने कुरा गर्छ, त्यही राष्ट्रवाद अहिले विभाजनको रेखा बनिरहेको छ र अल्पसंख्यकलाई आँखाको कसिंगर देखिरहेको छ । अर्को भाषाभाषीलाई कसिंगर देख्छ । यहाँसम्म कि आफ्नै घरका आमा,दिदी बहिनीहरुलाई पनि चुनौती देखिरहेको छ । यसकारण अहिलेको यो किसिमको राष्ट्रवाद संकीर्ण राष्ट्रवाद हो ।
अहिले त हामीलाई अर्को किसिमको चुनौती पनि राष्ट्रवादको नाममा आइरहेको छ । धार्मिकरुपमा बहुसंख्यक हामी छौँ भनेर भारतमा ‘धर्मान्ध’ राष्ट्रवाद जुन उब्जिरहेको छ त्यो पनि बहुल पहिचान, बहुल भाषा, बहुल संस्कृतिका लागि चुनौतीका रुपमा आएको छ । नेपालमा हिन्दुहरुको बहुलता हुँदाहुँदै पनि हामी सनातन हिन्दुहरु हौँ । जहाँ हिन्दुहरुभित्रै फरकफरक परम्परा छन् । दसैंको टीका पनि कसैले रातो लगाउँछन् कसैले सेतो लगाउँछन् ।
जहाँ कुल पूजामा कसैले बोका काट्छन् कसैले खिर पकाउँछन् । हिन्दु भनिए पनि हाम्रो चालचलन,रीति परंपरा फरकफरक छन् । कुनै एउटा मठले,कुनै एउटा धार्मिक नेतृत्वले यसो गर्नु हुन्छ यसो गर्नु हुँदैन भनेर भन्दैन । हामीलाई सिकाउने ल्याकत नै राख्दैन किनभने हामी स्वतन्त्र छौँ । यस किसिमको सौन्दर्य छ । यो सुन्दरतामा नयाँ धार्मिक राष्ट्रवादको नजर छ हरेक कुरा पहेलो देख्ने । यो नेपाली समाजका लागि राष्ट्रवादको चुनौती हो ।
यस विषयमा चासो राख्नेहरुले अलिकति अनुसन्धान गर्नुस् । बूढानीलकण्ठको मन्दिरमा बुद्ध धर्मावलम्बीहरुले पूजा गरिरहेका हुन्छन् । लामाले ढ्याङ्ग्रो ठटाउने गरिरहेका हुन्छन् । तर, पछिल्लो समय त्यहाँ पूरै बैष्णवीकरण भइरहेको छ । त्यहाँ जाँदा अहिले दक्षिण भारतको वैष्णव मन्दिर जस्तो लाग्न थालिसक्यो । पशुपतिमा वैशाख पूर्णिमामा बुद्धको मुकुट पहिराएर पूजा गरिन्छ । तर,त्यहाँ पनि धर्मान्धहरुले पशुपतिनाथमा बुद्धको मुकुट पहिराएर पूजा गर्ने होइन भनेर कुनै दिन हल्ला गर्नसक्ने जोखिम देखिन्छ । किनभने जसले धेरै धेरै पैसा दिन्छ,धेरै धेरै चन्दन दिन्छ,धेरै धेरै सुन चढाउँछ । त्यसले प्रभाव नपार्ला भन्न सकिन्न । देशमा अवैध रुपमा भएको सुनको कारोबारो अनुसन्धानमा आउँदा छुपाएर पशुपतिमा जलहरी बनाएर छुट्टै राष्ट्रवाद प्रकट भएको चर्चा पनि चलेकै थियो । मच्छिन्द्रनाथ हिन्दु र बौद्ध धर्मका साझा देवताको रुपमा मानिदै आएको छ अबको समयमा यसमा पनि विवाद नजन्मेला भन्न सकिदैन ।
हिन्दु नै भए पनि भारत र हाम्रो फरक छ । हाम्रो धर्म सनातन हिन्दु धर्म हो । हामी सनातन हिन्दु हौं । हाम्रा बा,बाजे,प्रबाजे परंपरा कालदेखि मान्दै आए यही हाम्रो लागि हिन्दुत्व हो । भारतका लागि हिन्दुत्व ‘राजनीतिक एजेन्डा’ हो । हाम्रो लागि यो सांस्कृतिक पहिचान हो ।
हाम्रोमा धर्म राजनीतिक मुद्दा होइन । अब जुन दिन राजनीतिक एजेन्डा बन्छ । त्यो बनेका दिन हामी हिन्दु अरुभन्दा फरक छौँ, हामी एक हुनुपर्छ भन्ने राजनीतिक पहिचानमा लिएर जान सक्छ । अहिलेसम्म जुन डरका कारणले अरु कारणले राजनीतिक राष्ट्रवादको कुरा भइरहेको छ भने भोलि धार्मिक राष्ट्रवादले सताउन सक्छ । राष्ट्रियता भनेको दोधारे तरबार हो । यसले मानिसलाई एक ठाउँ लिएर पनि आउँछ, राष्ट्रवादका नाममा धेरै मान्छेहरु मारिएका पनि छन् र विभाजनको कारण पनि बनेका छन् । राजनीतिक मतमतान्तर गरेर सम्प्रदायलाई बाँड्ने काम भयो भने त्यो राष्ट्रवादको एउटा नराम्रो पक्ष बन्छ । जसले मुलुकमा द्वन्द्व सिर्जना गर्दछ र मुलुक धोष्त पार्न सक्छ । यसको उदाहरणको रुपमा हामिले रुवाण्डामा भएको युद्ध १९९४ मा भएको रुवाण्डा नरसंहार (Rwandan Genocide) हेर्न सक्छौं जुन ७० लाखभन्दा बढी मानिसलाई प्रभावित गर्यो। यो युद्ध मुख्य रूपमा रुवाण्डाका दुई प्रमुख जातीय समूह, होटु र तुत्सी बीचको संघर्ष थियो। होटु बहुसंख्यक जनसंख्या थिए भने तुत्सी अल्पसंख्यक, र त्यसै कारण जातीय तनाव र भेदभावको कारण संघर्ष भएको थियो जसले रुवाणडालाई छेदबिच्छेद पार्यो । त्येसैले बहुसंख्यक धर्मलम्बी,जातजाति,भाषिले अल्पसंख्यकलाई हेपाहा दृष्टिकोणले उनीहरुको अधिकारमाथी कुण्ठित गर्ने प्रयत्न गर्नु जाहेज हुँदैन ।
हाम्रोमा ठूला लगानी आउँदा पनि तर्सने र जनता भड्काउने चलन छ । अरुण तेस्रोमा विश्व बैंकले लगानी गर्न खोजे पनि राष्ट्रवाद जोखिममा पर्ने, एमसीसी, बि.आर.आई जे आए पनि राष्ट्रवाद नै जोखिममा पर्ने जुन प्रवृत्ति देखिँदैछ त्यो मैले माथि भनेजस्तो संकीर्ण र लघुताभाषी राष्ट्रवाद हो । जति जति नेपालको राजनीतिमा कम्युनिस्टहरुका बीचमा संशयहरु बढ्दै जान्छ,उनीहरुको संगठनको सिद्धान्त भनेको कुनैपनि मुद्दामा ‘एन्टिपोलिटिक्स’ खडा गर्ने हो । कुनैपनि मुद्दामा शत्रु उत्पन्न गर्ने हो । कम्युनिस्ट राजनीतिमा उनीहरु शत्रु खडा नगरे उभिनै सक्तैनन् । त्यही भएर उनीहरुले दस्तावेजमै प्रमुख दुस्मनसहितका कुरा लेखेर लिएर आउँछन् । अर्को दक्षिणपन्थी राष्ट्रवादीहरुको अवस्था पनि त्यही नै ठूलो कुरा हो । अल्पसंख्यक दुस्मन हुन् । विदेशी दुस्मन हुन्छन् । कसै न कसैलाई शत्रु मान्ने सूत्र खोज्नुपर्ने हुन्छ । आफ्नो संगठन निर्माण गर्न, आफूलाई संगठित राखिराख्न उग्र कम्युनिष्ट र उग्र दक्षीणपन्थी यी दुवै धारले शत्रु सिर्जना गर्छन् । अहिल चरम दक्षिणपन्थी र उग्र कम्युनिस्ट दुवैले ‘इमेजरी पोलिटिक्स’ गरिरहेका छन् । उनीहरु दुवै मुलुकमा शत्रु लागेको छ भनेर जनतालाई आफूतर्फ आकर्षित गर्ने प्रयासमा छन् । शत्रु खडा गर्नु उनीहरुको संगठनको टेक्स्टबुक गाइडेन्स हो । त्यसो हुँदैनथ्यो भने बीसौँ वर्ष राजनीति गरिसकेका मान्छेहरू यो किसिमको लाञ्छनाको राजनीतिमा उत्रिँदैनथिए । एक अर्कामै पनि लाञ्छित त गरिरहेकै छन् उनीहरु । यसमा उदार लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पनि कता कता तानिएकै छ । ऊ विभिन्न पछिल्ला प्रकरणहरुमा भने जोगिएको छ ।
नेपाली कांग्रेस उदार लोकतान्त्रिक पार्टी हो । तर, उसलाई पनि अरूले बहसमा तानिरहेका छन् । तिमीहरुको राष्ट्रियता के हो भन्दै प्रश्नहरु आउँछन् । नेपाली कांग्रेसले उदार राष्ट्रवादको कुरा उठान गर्ने हो यहाँ खुल्ला अर्थतन्त्र,निजीकरण,खुल्ला साँस्कृतिक आदानप्रदान,मानवअधिकार,शान्ति,सुरक्षा,प्रजातान्त्रिक मुल्यमान्यता,जनताको ब्यक्तिगत अधिकार,मताधिकार,अन्तर्राष्ट्रिय लगानी,उदार ब्यापार नीति लगायत जस्ता कुरालाई प्रोत्साहन गर्ने हो । उदार राष्ट्रवाद र संकीर्ण राष्ट्रवादबीचको लडाइँ हो यो । उदार राष्ट्रवाद सबैलाई समेट्ने हो । संकीर्ण राष्ट्रवादले समाजमा उठेका केही सम्प्रदायका मुलभुत पक्षलाई राष्ट्रवाद माथिको खतरा देख्नु हो ।
नेपालमा २०७२ को संविधानले पनि नेपालमा विविधता छ, जातीय,धार्मिक,सांस्कृतिक विविधताको स्वीकार गर्दै नेपाली नागरिक भन्नाले यी सारा अधिकारको उपभोग गर्ने,त्यसप्रति उसको दाबी गर्ने अधिकार भएको व्यक्ति मानेको छ । हाम्रो चुनौती कहाँ हो भने ०६२/६३को जनआन्दोलन जसको आधार समाज छ त्यही सामाजिक परिवेशलाई संविधानले परिभाषित गर्न खोजेको छ । त्यो परिभाषित गर्ने क्रममा त्यसबाट उत्पन्न राजनीतिबाट आत्तिएका मानिसहरुले फेरि पुरातनपन्थी राष्ट्रवादको कुरा गर्दैछन् । जसले संविधानलाई नै जोखिम देखिरहेको छ ।
विसं ०६२/६३को जनआन्दोलनमा राष्ट्रवादको आधार सामाजिक पहिचान थियो । यो देशमा अल्पसंख्यक समुदायहरु छन्, बहुसंख्यकहरु पनि छन् । त्यसबीचको राजनीतिक समन्वय खोज्ने,संविधानको सही कार्यान्वयन गर्ने र सही मार्गदर्शनमा हिँड्नुको साटो मसानघाटमा सुतिसकेका भूतलाई जगाउने प्रयास भएको छ जसले नेपालको सन्दर्भमा सयौं बर्ष शासन गरेर विकासका नाममा कुनै रुपान्तरण नगरेको त्येसैलाई उचालेर पुनः विकास निर्माण,वैदेशिक लगानीमा मात्र हैन त्येसबाट आर्जित उपलब्धिहरुलाई होच्याउने,त्यसलाई सिध्याउने नाममा पनि राष्ट्रवादको घाँडो बजाइँदै छ ।
राष्ट्रवाद धेरै मानिसहरुलाई एकैपटक आकर्षित गर्नका लागि एजेण्डा हो । त्यो पनि हामी बलिया छौँ भनेर ल्याउने भए एउटा कुरा हो । तर, हामी कमजोर छौँ, हामीलाई सिध्याइदिन्छ भन्ने छायादेखि तर्सने राष्ट्रवाद चाहिँ अहिलेको हो । आफ्नै छायादेखि तर्सने अहिलेको राष्ट्रवादले हामीलाई कमजोर बनाएर लैजान्छ । राष्ट्रवादको खेती गर्नेहरुले नयाँनयाँ मुद्दाको खोजी गर्दै जान्छ । अरुण तेस्रो वा विभिन्न हाइड्रो,दैलेखको पेट्रोलियम उत्खनन वा अन्य यस्ता मुद्दामा जागेको ‘राष्ट्रवाद’ले हामीलाई फाइदा गर्दैन । बलियो होइन कमजोर बनाएको छ । यी मुद्दाले के कुरा बलियोसँग बुझाएको छ भने राष्ट्रवाद भन्दा महत्त्वपूर्ण कुरा मानिसहरूको दैनिक जीवन हो । यसलाई कसरी सरल बनाउने ? एक अर्काप्रतिको सहिष्णुताको आधार के हो ? एउटा नेपालीले अर्को नेपालीलाई नेपालीभित्रको अल्पसंख्यक पहिचानलाई कसरी स्वीकार गर्न सक्छौँ ? एउटै माटोमा, एउटै ठाउँमा जतिसुकै राष्ट्रभक्तिको झन्डा उठाएपनि आफ्नो बन्धुबन्धुत्त्व, छिमेक सबैसँग छायाका रुपमा तर्सन थाल्यौँ भने राष्ट्रवाद वा राष्ट्र बलियो हुन सक्दैन । राष्ट्रवादका नाममा अहिले विश्वसामु हाम्रो छवि कमजोर भइरहेको छ । आफ्नै छायादेखि तर्सने कुराले राष्ट्रवादलाई बलियो बनाउँदैन । हाम्रै समाजमा भुकम्प जाँदा वा बाढिपहिरो,भुछय जाँदा वा केही घटना हुँदा आपसी छरछिमेकको सहयोग आवस्यक पर्छ मान्छे जो सुकै होस् त्यसले तपाईँलाई आश्वस्त बनाइरहेको हुन्छ,विश्वास दिलाएको हुन्छ । तर, हामी विम्बहरु यस्ता बनाउँदैछौ जसका कारण आफ्नै छाँयादेखि डराउने अवस्था छ । ऐना हेर्दा आफैसँग डराउने अवस्था निर्माण गरिँदैछ ।
प्रचण्डले केपी वलि,केपिले माधव नेपाल, माधव नेपालले बाबुराम र यी सबैले शेरबहादुर देउवालाई एक अर्काको शत्रु देख्ने र त्यही छाँयादेखि तर्सिने अवस्थाले हामीलाई बलियो बनाउँछ त । आफूलाई चित्त नबुझेको विषय राख्न सक्ने अवस्था पनि हुनुपर्यो र एक अर्काप्रतिको विश्वास पनि रहनुपर्यो । त्यही भएर लोकतन्त्र एउटा अपरिहार्य तत्त्व हो ।
जतिसुकै राष्ट्रवादको कुरा गरे पनि लोकतन्त्रविना त्यसको सार्थकता कायम हुन सक्दैन । मलाई राष्ट्रवाद र लोकतन्त्र रोज भन्यो भने म लोकतन्त्र रोज्छु । किनभने त्यसले मलाई बताउँछ कि म को हुँ, म कोसँग सम्बन्ध राख्ने हुँ, मेरा को छन् ? तब बल्ल म राष्ट्रको कल्पना गर्न सक्छु ।
अहिले त लोकतन्त्रको जगलाई हिर्काउन गुमराहमा राख्ने काम भइरहेको छ । त्यसैले कहिलेकाहिँ राष्ट्रवाद आकाशलाई ढाक्ने कुइरो र कालो तुवालो भएर आउँछ । त्यसलाई चिर्न जरुरी छ । त्यसलाई चिर्ने भनेको आखिर लोकतन्त्रले नै हो । जुन ठाउँमा जनताले आफ्नो विवेक प्रयोग गर्दैनन् त्यस ठाउँमा न लोकतन्त्र फस्टाउँछ न त राष्ट्रवाद नै फस्टाउँछ ।
लोकतान्त्रलाई अहिले सबैभन्दा खतरा यसैको जगमा टेकेर लुकिछिपी हिर्काउने छलकपट गर्नेदेखि छ ।
बंशवादको बिडो उठाएर एकजना अर्को राष्ट्रवादी ‘विचारभन्दा माथि देश’ भनेर पनि देखिँदैछन् । विचारभन्दा माथि देश भन्नेका लागि पनि देश भनेको त जनता हुन् ।
अनि जनता भनेको पनि मै भने के हुन्छ ? जनताविना देश हुँदैन । देश त अमूर्त हुन्छ । जहाँ जनता हुन्छन् त्यहाँमात्र देश हुन्छ र जनताको बिचारबाट नै देश सिर्जित हुन्छ । यस्ता मुर्ख तर्क दिनेलाई देशको परिभाषा नै थाहा छैन कित जनतालाई छलेर राजनीतिमा उदाउने मोह जागेको छ ।
अर्को कुरा अहिले उठेको छ व्यवस्था सहित अवस्था बदलौ व्यवस्था नबदली अवस्था बदलिदैन जस्ता कुरा उठेका छन हामिले बुझ्नपर्ने कुरा के छ भने जनताको चेतनासँगै अवस्था बदलिने हो यसैको धरातलमा टेकेर राजनीतिक व्यवस्था बदलिएको हो जति समाजको अवस्था उत्कृष्ट हुँदै जान्छ उत्तिनै उदार व्यवस्था खोज्ने हो । जनताले नरुचाएर फालेको व्यवस्थामा फर्किने सम्भावना छैन समाज अघि बढ्दैजाँदा तानाशाही निरंकुस्तातर्फ हैन अझै मझबुत अधिकार सहितको व्यवस्था रोज्दछन । जनता आफ्नो मातहतमा रहने व्यवस्था खोज्दछन रैती बन्ने हैन ।
राष्ट्रवाद के हो भन्ने हेक्का समेत नभएका केही यस्ता खलनायक पात्र बनेर उदाएका छन राष्ट्रवादको नाममा दुनियाँलाई गाली गरेर यस्ता पात्रहरू पनि छन जसलाई इतिहासको कुनै पानाको अध्यन पनि छैन जसले ठूलो हुङ्कार हाल्दै भन्छन यो मुलुक फलानोले आर्जेको हो उसैको देनले निर्माण भएको हो । यो बुझ्न जरुरत छकी यो कसैको वंशले मात्रै आर्जेको मुलुक हैन, हामी कैयौंका पुर्खाका गर्धन रेटिएका छन,कैयौंका पुर्खाको शरीर छेदविछेद भएर सकिएको छ,कैयौंले युद्धमा दानापानी नपाएर भोकभोकै देह त्यागेका छन के यिनिहरुको कुनै मूल्य छैन यिनिहरुको राष्ट्रवाद हुँदैन के राष्ट्रप्रती यिनिहरुको कुनै भावना उत्पन्न नभएर लडेका थिए तानाशाहले यिनका सन्तति माथी कति सताब्दी दाशत्व लाद्न पाउँदा आफ्नो सौखिन पूरा हुन्छ र राष्ट्रवाद जिवित रहन्छ भन्ने सम्झन्छ । यिनका सन्ततिहरु यो मुलुकको नायक बन्न लाएक छैनन् किन बन्न नपाउने ।
अहिले फेरि अर्को राष्ट्रवादी शक्ति उदायको अवस्था छ जसको बिचर,गन्तब्य,दिशा के ,कस्तो र कतातिर हो कुनै ठाउँठेगान छैन । यिनिहरुले आफुहरु भन्दा अरु कुनै यो मुलुकमा लायक सम्झदैनन सबै भ्रष्ट्र,माफिया,गुण्डा मात्रै सम्झिन्छन दुईचार युटुबेहरुलाई अघिपछि लगाएर स्टन्ड गर्नु यिनिहरुको लागि सबैभन्दा ठुलो राष्ट्रवाद हो । देशका संबैधानिकवाद हाम्रो वाद भन्दछ उसैले यो संविधान निर्माणमा नायकत्वको रुपमा भुमिका निर्वाह गर्ने दल र व्यक्तिलाई गलत देख्दछ । संबैधानिक अंगहरुलाई मान्न तयार हुँदैन संविधानले अवलम्बन गरेका विधि र पद्धति माथीनै प्रश्न खडा गर्छ र राज्यभन्दा माथी ब्यक्ति स्थापित हुने प्रयत्न गर्दछ । लोकप्रियवादलाई नै राष्ट्रवादको उपमा दिन्छ । बडो अनौठो राष्ट्रवादको उत्पत्ति भएको छ । जसले समाजलाई निर्देशित गर्ने मुल्यमान्यता,निति,पद्धति,दायित्व,सामाजिक मान्यता,सांस्कृतिक सबै पक्ष धोस्त पारेर यो समाजलाई कतातिर डोर्याउन लागेको छ यस्तो राष्ट्रवादले डर यहाँनेर छ ।
प्यालेस्टाइन छैन तर प्यालेस्टिनी राष्ट्रवाद त छ । प्यालेस्टाइन भन्ने विचार छ र त्यो राष्ट्रियता पनि छ । अनि विनाविचार देश हुन्छ त ? उनले विचार भनेको समाजवाद, कम्युनिज्म भन्नेमात्र बुझेका हुन् भने मैले भन्नु केही छैन । दुनियाँमा यस्ता थुप्रै उदाहरणछन् जहाँ देश नभए पनि राष्ट्रियता छ । त्यसले मानिहरुलाई एकजुट गराइरहेको छ । उग्र वामपन्थ र उग्र दक्षिणपन्थ एउटै सिक्काका दुईवटा पाटा हुन् । हेर्दा नजिक तर एक आपसमा जोड्न नसकिने एउटा पाटो बिना सिक्का सिक्का बन्दैन । लोकतान्त्रिक मुल्यमान्यता जोगाउन र राष्ट्रवादलाई संरक्षण गर्न यी दुई एउटै बिन्दुमा उभिन जरुरत छ । हुनात अहिले यिनलाई छुट्याउन पनि गाह्रो छ पोलिनर नोटको दुइटा पाटा जस्तै दोबारेर एउटै केन्द्रमा जोडिने बनिसकेका छन कुन दक्षिणपन्थि र कुन बामपंथी हुन नचिनिने । यति भन्दै गर्दा कतिले मलाई देशद्रोहिको झोले देख्न सक्छन् अथवा विदेशीको नुनपानीले पालिएको सम्म भन्न भ्याउछन थाहा छ अध्यनहिन तर्क बिहिन बुख्याचाहरुले जे भन्दा पनि केहि खासै तात्वैक भिन्नमत राख्दैन । जोसुकैले जस्तोसुकै राष्ट्रवादको भजन गाएर सत्ताको सिँडि चडोस त्येसले कुनै अर्थ राख्दैन जति उसले यो मुलुकलाई आर्थिक,सामाजिक र राजनीतिक रुपमा एउटा स्पस्ट दृष्टिकोण सहितको गन्तव्यमा निकास दिनसक्छ उसैलाई हामि सबैभन्दा ठूलो राष्ट्रवादी शक्ति मानौंला । अन्यथा हाम्रो बिकाशको बाधक नै संकुचित राष्ट्रवाद हो ।