सुर्खेत, जेठ १९ — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता सम्बन्धी विषयमा स्पष्टिकरण जारी गरेका छन् ।

सोमबार जारी विज्ञप्तिमा खड्काले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा वितरणको कार्य २०८२ पौष १० गतेसम्म अधिकांश रूपमा सम्पन्न भइसकेको बताएका छन् । उक्त अवधिमा नवीकरण गर्न छुटेका, नवीकरण गर्न चाहने तथा नयाँ सदस्यता लिन इच्छुक कार्यकर्ताहरूका लागि समेत सदस्यता नवीकरण र वितरणको व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार पौष १० गतेसम्म छुटेका र त्यसपछि नवीकरण वा नयाँ वितरण भएका क्रियाशील सदस्यताहरूलाई पनि कायम राखिनेछ । त्यस्ता सदस्यहरूले महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने सुनिश्चितता गर्न पार्टी प्रतिबद्ध रहेको खड्काले बताएका छन् ।

खड्काले देश तथा विदेशमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूलाई क्रियाशील सदस्यताबारे फैलिएका अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन् । उनले सबै योग्य सदस्यहरूलाई महाधिवेशनमा सहभागी गराउने विषयमा पार्टी दृढ र प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन् ।

पार्टीभित्र एकता कायम राख्दै १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यका साथ यो स्पष्टिकरण जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय