सुर्खेत, श्रावण १४ — पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नेपालमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई आह्वान गर्नुभएको छ ।
बिहिबार जारी गरिएको सद्भाव सन्देशमा उहाँले नेपाल स्थापना कालदेखि नै नेपाली समाज विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराका बीच आपसी मेलमिलाप, प्रेम र सहअस्तित्वका साथ अघि बढ्दै आएको उल्लेख गर्नुभएको छ । यही विविधताले नेपाललाई विश्वमा विशिष्ट पहिचान र सम्मान दिलाएको भन्दै यसमा कुनै पनि प्रकारको खलल पुग्न नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।
सन्देशमा केही दिनअघि सुनसरी जिल्लाको एक गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा विवादका कारण जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ । उक्त घटनाको प्रभाव कोशी प्रदेश तथा तराईका विभिन्न क्षेत्रमा फैलिन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनाले नेपाली समाजको मौलिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाउने उल्लेख गरिएको छ ।
पूर्वराजा शाहले देशभरका सबै नेपालीलाई संयम अपनाउन, आपसी सद्भाव कायम राख्न तथा कुनै पनि प्रकारका विभाजनकारी गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ । “जहाँसुकै बसेका नेपालीहरू एकताबद्ध रहौँ, यही आजको आवश्यकता हो,” सन्देशमा उल्लेख छ ।



