दैलेखमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै वडा सचिवलाई फोनमार्फत धम्की दिएको घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई अभद्र भाषा प्रयोग गरी धम्की दिएको अडियो सार्वजनिक भएपछि प्रकाश खड्कामाथि कारबाही प्रक्रिया सुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो।
कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने र दबाब दिने गतिविधि निन्दनीय तथा अक्षम्य भएको उल्लेख गरिएको छ। साथै, सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जनाइएको छ।
विज्ञप्तिमा प्रधानमन्त्री सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको मनोबल र सुरक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुनविपरीत गतिविधि गर्ने जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।
त्यस्तै, प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी कसैले फोन, सन्देश वा भेटमार्फत धम्की, बार्गेनिङ वा अनुचित दबाब दिन खोजेमा त्यसप्रति सचेत रहन कार्यालयले सर्वसाधारण तथा सरकारी निकायलाई आग्रह गरेको छ।
कार्यालयले शंकास्पद फोन वा सन्देशलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र आवश्यक प्रक्रिया अघि बढाउन स्थानीय तह, सरकारी निकाय तथा राष्ट्रसेवक कर्मचारीलाई अनुरोध गर्दै राज्यको प्रशासनिक गरिमा र संस्थागत साख जोगाउन सरकार सदैव प्रतिबद्ध रहेको जनाएको छ।


