कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बैजनाथ क्षेत्रमा हावाहुरीका कारण टावर ढलेपछि अवरुद्ध बनेको विद्युत सेवा अझै नियमित हुन कम्तिमा दुई साता लाग्ने भएको छ। गत वैशाख २६ गते चिसापानी चेकपोष्ट नजिकै ठूलो सालको रुख ढलेर तारमा बजारिँदा टावरमा क्षति पुगेको थियो।

क्षतिग्रस्त क्षेत्रमा टावर पुनर्निर्माणको पहिलो चरणअन्तर्गत फाउण्डेशन (जग) निर्माणको काम सोमबार सम्पन्न भएको छ। अब टावर खडा गर्ने र तार तान्ने काम बाँकी रहेकाले विद्युत सेवा पूर्ण रूपमा सञ्चालनमा आउन थप दुई सातासम्म लाग्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार प्रसारण लाइनको सुरक्षाका लागि तोकिएको क्षेत्रभन्दा बाहिर रहेको करिब ३८ मिटर लामो सालको रुख हावाहुरीले ढाल्दा तारमा ठोक्किएर टावरमा क्षति पुगेको हो। उनले निकुञ्ज क्षेत्रमा रहेका जोखिमयुक्त रुख हटाउन अनुमति नपाउँदा यस्ता समस्या दोहोरिन सक्ने चेतावनी समेत दिएका छन्। चिसापानी क्षेत्रमा मात्रै ८० भन्दा बढी जोखिमपूर्ण रुख रहेको उनको भनाइ छ।

मुख्य १३२ केभी लाइन बन्द भएपछि हाल सुर्खेतसहित कर्णालीका जिल्लाहरूमा पुरानो ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको छ। तर अत्यधिक गर्मीका कारण माग बढ्दा भोल्टेज कम आउने, लाइन ट्रिप हुने तथा छिनछिनमा बत्ती जाने समस्या बढेको छ।

यस घटनापछि नेपाल विद्युत प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले घटनास्थलको अध्ययन सम्पन्न गरे पनि प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय