सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र पछिल्ला दिनमा फैलाइएका भ्रमपूर्ण हल्ला र अफवाहप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले पार्टीका सबै तहका पदाधिकारी, नेता तथा क्रियाशील सदस्यहरूलाई यथार्थभन्दा फरक प्रचारप्रसारबाट प्रभावित नहुन आग्रह गरेका छन् । उनले सभापति गगनकुमार थापासँग पछिल्लो ३१ दिनदेखि कुनै पनि प्रकारको सम्पर्क वा संवाद नभएको स्पष्ट पारेका छन् ।
खड्काले विगत दुई महिनादेखि पार्टी एकता कायम गर्न इमान्दार प्रयास गरे पनि अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । पछिल्ला केही दिनयता पार्टीसँग सम्बन्धित विभिन्न हल्ला र घटनाक्रमले आफूलाई चिन्तित बनाएको उनको भनाइ छ ।
उनले १५औँ महाधिवेशनका लागि नवीकरण नगरिएका तथा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यहरूलाई अध्यावधिकका नाममा दबाब दिइएको गुनासो देशभरबाट प्राप्त भइरहेको उल्लेख गरेका छन् । यस्तो प्रवृत्ति पार्टी जीवनका लागि घातक हुने भन्दै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
खड्काले नवीकरण नगरिएका वा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यहरूलाई अध्यावधिक नगरेको बहानामा १५औँ महाधिवेशनमा सहभागी हुनबाट कसैले पनि वञ्चित गर्न नसक्ने दाबी गरेका छन् । सबै योग्य सदस्यले महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था सुनिश्चित गर्नु पार्टीको जिम्मेवारी भएको उनको भनाइ छ ।
त्यस्तै, नेताहरूको क्रियाशील सदस्यता अध्यावधिक केन्द्रले स्वतः गरिदिने भन्ने विषयमा पछिल्ला दुई दिनदेखि फैलाइएका प्रचारलाई उनले निराधार अफवाहको संज्ञा दिएका छन् । यस्ता हल्लाहरू पार्टी पङ्क्तिमा भ्रम सिर्जना गर्न फैलाइएको दाबी पनि उनले गरेका छन् ।
खड्काले पार्टीका नेता–कार्यकर्तालाई सत्य तथ्य बुझेर मात्रै धारणा बनाउन आग्रह गरेका छन् ।


