सुर्खेत — कर्णाली प्रदेशमा बाल क्लबमा रहेर बालअधिकार तथा बाल संरक्षणको क्षेत्रमा योगदान दिएका पूर्व बाल क्लब सदस्यहरूको पहिलो ऐतिहासिक भेला सम्पन्न भएको छ।
सीएसआर कर्णालीको आयोजना तथा सेभ द चिल्ड्रेन, युनिसेफ र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो। सीएसआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यको सभाध्यक्षता तथा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्यहरू, बाल क्लबका पूर्व सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

भेलामा कर्णालीमा बालबालिकाको वर्तमान अवस्था, बालअधिकारका सवाल तथा बाल सहभागिताका विषयमा छलफल गरिएको थियो। पूर्व बाल क्लब सदस्यहरूले आफ्ना अनुभव प्रस्तुत गर्दै बालबालिकाका सवाललाई नीति निर्माण तथा कार्यान्वयनको तहसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बालअधिकारको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मानसमेत गरिएको थियो। सुर्खेतका नागरिक समाजका अगुवा पिताम्बर ढकाल, टीकाराम आचार्य, रमा भण्डारी, तत्कालीन जिल्ला बाल कल्याण समितिका बाल प्रतिनिधि टेकराज आचार्यलगायतलाई सम्मान गरिएको आयोजकले जनाएको छ। साथै बालअधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत सेभ द चिल्ड्रेन र सीड नेपाललाई पनि सम्मान गरिएको थियो।
भेलाले पूर्व बाल क्लब सदस्यहरूलाई संगठित गर्दै बालअधिकारको क्षेत्रमा थप योगदान गर्ने उद्देश्यले कार्यविधिसमेत पारित गरेको छ। कार्यविधिअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी १५ सदस्यीय समिति गठन गर्ने व्यवस्था गरिएको छ। समितिमा महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

भेलाले १२ बुँदे कर्णाली घोषणा–पत्र समेत जारी गरेको छ। घोषणापत्रमा पूर्व बाल क्लब सदस्यहरूलाई सञ्जालमा आबद्ध गर्ने, सञ्जाललाई संस्थागत तथा सुदृढीकरण गर्ने, बाल संरक्षणसम्बन्धी सरकारी संरचनालाई बलियो बनाउन सहयोग गर्ने, सीप तथा रुचिका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने र आत्मनिर्भरता तथा क्षमता विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

त्यसैगरी भौगोलिक, वैचारिक, सांस्कृतिक तथा विविधताको सम्मान गर्दै गैरराजनीतिक र धार्मिक तटस्थता कायम गर्ने, अनुसन्धान तथा तथ्यमा आधारित संवादलाई प्राथमिकता दिने, समावेशी समानता र अधिकारमुखी अवधारणालाई प्रवर्द्धन गर्ने तथा बालअधिकारको संरक्षण, प्रवर्द्धन र सुनिश्चितताका लागि सक्रिय भूमिका निर्वाह गर्ने घोषणा गरिएको छ।

भेलाले तत्कालका लागि कर्णालीका प्रत्येक जिल्लाबाट एक–एक जना प्रतिनिधि छनोट गरी कार्यसमिति गठन गर्ने निर्णयसमेत गरेको छ। उक्त समितिले संयोजक, उपसंयोजक लगायतका पदाधिकारी चयन गर्नुका साथै महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमको समग्र व्यवस्थापन बालअधिकारका लागि साझा अभियानका रूपमा कर्णाली प्रदेशले गरेको थियो। भेलाले बालबालिकाका आवाजलाई परिवार, समुदाय तथा संस्थागत तहमा सुनुवाइ गराउन पूर्व बाल क्लब सदस्यहरूको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय